छोटो युरोप भ्रमणमा ‘कम्पन’सँगै गाँसेको आत्मीयता

कम्पनको युरोप यात्रा – २

-किशोर पन्थी

विमान समयमै ल्याण्ड गरेपनि पोर्चुगलको फारो विमानस्थलबाहिरसम्म पुग्दा केही ढिलो भयो । दाई (हरिकृष्ण) ले २ घण्टादेखि कुरेर बसिरहनुभएको रहेछ । लामो समयको अन्तरालपछि दाईलाई भेट्दा निकै खुशी लाग्यो । परिवारको सदस्यलाई लामो समयपछि भेट्दा उहाँको अनुहारमा देखिएको खुशी मैले सहजै पढ्न सक्थें । बिमानस्थल नजिकै केहीबेर मनोजलाई कुरेपछि हामी तीनैजना उबरमा दाईको निवासमा गयौं । फारोमा म आउने कुरा पहिले नै थाहा पाइसकेकाले मनोज बिदा लिएर भेट्न आएका थिए । दिनभर घरमै भलाकुसारी भयो । बेलुका शंकरसहित हामी फारोको समुन्द्री किनारा लगायत विभिन्न स्थानको दृश्यावलोकनमा व्यस्त भयौं । पोर्चुगलको बसाई निकै पारिवारिक भयो । दाईसँगै भएकाले मलाई आफ्नै गाउँघरमा बसिरहेजस्तो अनुभव भयो । आफ्नो परिवारका सदस्यहरु जहाँ हुन्छन्, त्यही आफूलाई पनि घरजस्तो लाग्ने रहेछ ।

फारोमा तीनदिन घुमेपछि हामी लिस्बोनतिर बसमै लाग्यौं । बसबाट दृश्यावलोकन गर्दै यात्रा गर्नुको मजा पनि बेग्लै हुन्छ । लिस्बोन पुग्दा मेरा पूराना मित्र तथा नयाँ शक्ति पार्टीका विश्वदीप पाण्डेपनि नेपालबाट त्यहाँ आइसक्नुभएको थियो । मित्र डीएस शेर्पाको रेष्टुरेण्टमा लञ्च गरेपछि हामीहरु समुन्द्री किनारामा बुक गरिएको होटलतर्फ लाग्यौं । बेलुका पोर्चुगलका पत्रकार गणेश पाण्डे लगायतका साथीहरुसँग भेटघाट भयो । उहाँहरुले हस्ताक्षरसहित पुस्तकहरु लिनुभयो । गणेशजीसँग मेरो पुरानो चिनजान भएपनि भेटघाट भने पहिलो थियो । अरु साथीहरुसँग भेटघाट र चिनजान गर्न पाउँदा निकै खुशी लाग्यो ।

पहिलो भाग पढ्न यहाँ क्लीक गर्नुहोला ।

दोश्रो दिन हामी लिस्बोनका केही स्थानहरुमा गयौं । विश्व सम्पदा सुचीमा रहेको पेना प्यालेस लगायतका केही महत्वपूर्ण स्थानहरु घुम्यौं । फर्कदा केहीबेर प्रहरीको केरकारमा पनि परियो । नेपालीहरु पोर्चुगलमा आएर त्यतै बस्ने क्रम बढेकाले प्रहरीले हामीमाथि पनि शंका गरेका रहेछ । तर सबै कागजात हेरेपछि उनीहरुले हामीलाई छाडिदिए । तेश्रो दिन दिउसो डीएस शेर्पाजीकै रेष्टुरेण्टमा अन्य केही साथीहरुसँग भेटघाट र चिनजान भयो । उहाँहरुले पुस्तक कम्पन हस्ताक्षरसहित लिनुभयो । त्यसपछि हामी त्यतैबाट स्पेनको म्याड्रिडका लागि विमानस्थलतिर लाग्यौं ।

विमानस्थलमा पुर्याउन दाईपनि जानुभएको थियो । विमानस्थल पुगेपछि पोर्चुगलका लागि नेपाली महावाणिज्यदूत मकर हमालपनि भेट्न आउनुभएको रहेछ । भेटघाटका क्रममा उहाँले केही प्रति पुस्तकहरु लिनुभयो । त्यसपछि म र विश्वदीपजी स्पेनतिर उड्यौं । पोर्चुगलको बसाई सबैभन्दा लामो भएकाले र त्यहाँ दाईपनि भएकाले पोर्चुगलसँग माया बसिसकेको रहेछ । दाईलाई बिदाई गरेर प्लेन चढ्न मन गहु्रंगो अनुभव भयो । छोटो फ्लाइटबाट स्पेनको म्याड्रिड पुग्दा मध्यरात हुनै लागेको थियो । तर त्यसदिन रियल म्याड्रिडले खेल जितेको खुशियालीमा प्लाजा मेयर, प्लाजा डे सिबेलेस लगायतका स्थानमा सडक भरिभराउ थियो । स्पेनीहरु झण्डासहित खुशीयाली मनाउन निस्केका थिए । हामी पनि त्यो खुशीमा सहभागी भयौं ।

सानो र सुन्दर शहर स्पेनको म्याड्रिडपछि लागियो जर्मनीको फ्र्यांकफर्ट तिर । त्यहाँ पुग्दा एनआरएन आईसीसीका उपाध्यक्ष कुमार पन्तजी विमानस्थलमा लिन आउनुभएको रहेछ । सिधै हामी पुग्यौं एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेज्यूको गोथे होटलतिर । त्यहाँ जीवाजीसँग भेटघाट भयो । केहीबेर आराम गरेपछि जीवाजीले आफै फ्रयांकफर्टमा विभिन्न सुन्दर स्थानहरु घुमाउनुभयो । विश्वका विभिन्न स्थानहरु घुम्नुभएका र सरसर्ती संसार पुस्तकसमेत लेख्नुभएका जीवाजीले विभिन्न स्थानको व्याख्या गर्दै निकै आत्मीयतापूर्वक हामीलाई घुमाउनुभयो । त्यसपछि बेलुका कुमारजी, जीवा जी र नेपालका चर्चित व्यवसायी चन्द्र ढकालजी तथा उहाँको परिवारसँगको डिनर विशेष स्मरणीय रह्यो । संयोगले चन्द्र ढकालजी सपरिवार फ्र्यांकफर्ट आउनुभएको रहेछ । निकै रमाइला कुराकानीहरु भए ।

फ्रयांकफर्टको बसाईपछि हामी बसमा चढेर बेल्जियमतिर लाग्यौं । बसमा यात्रा गर्दाको मज्जा नै बेग्लै हुन्छ कहिलेकाँही । प्लेनमा यात्रा गर्दा देख्न नपाइने दृश्यहरु बसमा यात्रा गर्दा देख्न पाइन्छ । हामी पनि त्यस्तै मनोरम दृश्यमा रमाउँदै र बसभित्रको फ्री वाईफाइ चलाउँदै अगाडि बढिरह्यौं । उसो त युरोपमा मैले अमेरिकामा प्रयोग गर्ने फोनकै इन्टनेट नेटवर्क फ्री नै थियो । फोनमा थोरै रोमिंग चार्ज लागेतापनि टेक्स्ट समेत फ्री । त्यसैले मलाई युरोप यात्राभर सम्पर्कबिहिन हुनु परेन ।

हामी आउने खबरले बेल्जियमको एन्टरपमा बस्ने मेरा पुराना मित्र सुशिल खरेलले बिदा मिलाइसकेका थिए । हामी सगरमाथा टेलिभिजनदेखि एबीसी टेलिभिजनसम्मका सहकर्मी हौं । त्यसैले म पनि भेटघाटका लागि निकै उत्साहित थिएँ । हामी ब्रसेल्समा नरोकिई सिधै ब्रसेल्सबाट एन्टरपतिर ट्रेनमा हुईकियौं । स्टेशनमा सुशिलजी कुरेर बसेका थिए । त्यसपछिको साँझको कुरै नगरौं । सुशिलजीसँगै समुन्द्रको छेउँमा बसेर बियर पिउँदै गफिंदाको मजा बेग्लै थियो । सुशिलजी, विश्वदीपजी र म विभिन्न स्थानमा घुमेर घर फर्कदा रातको ३ बजिसकेको थियो । भोलिपल्ट विहान एन्टरपका थप स्थान घुमेपछि हामी एकजना मित्रसँगै ब्रसेल्सतिर लाग्यौं ।

हामी दूतावासमा पुगेर राजदूत लोकबहादुर थापाजीलाई भेट्यौं । अनि दूतावासको कार्यक्रममा सहभागी भएर कम्पनबारे जानकारी दिने मौका मिल्यो । कैयन साथीहरुले कम्पन हस्ताक्षरसहित लिनुभयो । कार्यक्रम सकिएपछि राजदूत लोकबहादुर थापाजीले हामीलाई ब्रसेल्सका विभिन्न स्थानहरु घुमाउनुभयो । निकै फरासिला र खुला हृदयका थापाजीसँगको घुमघाम निकै स्मरणीय रह्यो । उहाँको श्रीमति पनि निकै मिजासिलो हुनुहुँदो रहेछ । बेलुका हामी राजदूतकै निवासमा बस्यौं ।

भोलिपल्ट विहानै हामी पेरिसका लागि हुईकियौं ।

पेरिस पुग्दा सुमित्रा बुर्लाकोटीजी स्टेशनमा नै कुरेर बसिरहनुभएको थियो । उहाँसँगै एकजना भाषाविद् पनि हुनुहुन्थ्यो । हामीसँगै कमलराज अधिकारीजीको लालकिल्ला रेष्टुरेण्टमा गएर लञ्च गर्यौं । दिनभर सुमित्राजीले पेरिसका विभिन्न स्थानहरु घुमाउनुभयो । न्युयोर्क र लण्डनपछि पेरिस मेरालागि एउटा सपनाको सहर थियो । त्यसैले पेरिसको आईफिल टावर अगाडि पुग्दा निकै खुशी लागेको थियो । बेलुका कमलजीसँगै डिनर गरियो । कमलजीको स्वागत सत्कार स्मरणीय थियो ।

भोलिपल्ट विश्वदीपजी जर्मनीहुँदै नेपालतिर लाग्नुभयो । म लण्डनतिर लागें ।

लण्डन पुग्दा प्रकाश शर्माजी मेरो प्रतिक्षा गरिरहनुभएको थियो । अमेरिकाबाट मित्र दीपक परियारजीले प्रकाशजीसँगको भेटघाट मिलाउनु भएको थियो । प्रकाशजीले विभिन्न साथीहरुलाई भेटाउँदै बेलुका घरमा लैजानुभयो । प्रकाशजीसँग बाटोमा निकै उपलब्धीमुलक कुराकानी भए । भोलिपल्ट म इस्ट क्रोयडनतिर लागें । दिउसो त्यहाँका चर्चित नेपाली ब्लगर लेक्स लिम्बुले लण्डन ब्रिज, बकिंघम प्यालेस लगायतका स्थानमा घुमाए । अक्वा शार्डमा बसेर लण्डनब्रिजतिर हेर्दाको मज्जा बिर्सिनसक्नु थियो ।

भोलिपल्टै विहानै बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीज्यूले ब्रेकफास्टका लागि दूतावासमा बोलाउनुभएको थियो । अब म लण्डन घुम्नको लागि कोही साथी नचाहिने भइसकेको थिएँ । लण्डनको ट्रेन सिस्टम निकै सजिलो भएकाले म ट्रेनमै चढेर दूतावास गएँ । त्यहाँ राजदूतज्यू बाहिर कुरेर बसिरहनुभएको थियो । उहाँसँगको ब्रेकफास्ट भेटघाटमा निकै रमाइला र उपलब्धीमुलक कुराकानीहरु भए । कम्पनको बारेमा पनि कुराकानी भयो ।

त्यसपछि म सुरज मास्केजीको रेड लायन रेष्टुरेण्टतिर लागें , जहाँ प्रकाश शर्माजीले केही साथीहरुसँगको भेटघाट मिलाउनुभएको थियो । त्यहाँ सुरज मास्के, सुशिल प्रजापति लगायतका साथीहरुसँग रमाइलो भेटघाट भयो । साथीहरुले पुस्तक कम्पन हस्ताक्षरसहित लिनुभयो ।

त्यसपछि हामी डबल डेकर बसमा चढेर धु्रब अर्याल र फणिन्द्र भट्टराईजीलाई भेट्न फणिन्द्रजीको क्याफे तिर लाग्यौं ।

क्याफेमा फणिन्द्रजी र धु्रबजीसँग केहीबेर गफियौं । निकै व्यस्त रहेछ क्याफे । हामी गएका कारण ७ बजे बन्द गर्नुपर्ने क्याफे ९ बजेसम्म खुल्ला राख्नुभयो फणिन्द्रजीले । त्यसपछि हामी ग्रिनवीच आसपासमा घुम्यौं । बेलुकाको दृश्य निकै रोमाञ्चक देखियो । ग्रिनवीचमा घुमेपछि हामी धुब्रजी र फणिन्द्रजीको निवासतिर लाग्यौं । धुब्रजीसँग राती १ बजेसम्म रमाइला रमाइला कुराकानी भए । त्यसपछि म होटलतिर लागें । होटलबाट राती नै लगेज लिएर म एयरपोर्ट पुग्दा रातीको ४ बजिसकेको थियो । यसरी युरोप भ्रमणका मिठामिठा सम्झनाहरु मनभरी बोकेर विहान ६ बजेको फ्लाइटमार्फत म गेटवीक विमानस्थलबाट न्युयोर्कतिर लागें ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *