सधैका लागि छुटे थवाङ यात्रामा भेटिएका फर्कबहादुर

एकबर्ष हुन लागेछ । तर हिजो जस्तो लाग्छ त्यो थवाङसम्मको हाम्रो यात्रा । साथमा थिए, विश्वदीप पाण्डे, गंगा श्रेष्ठ, मनोज ढोडारी, प्रह्लाद पोखरेल र नारायण पाण्डे ।

रोल्पाको छेर्लावाङबाट उकालो लागेपछि झमक्कै साँझ परेको थियो । अलिक माथि पुग्दा बाटो हराएपछि मोबाइलको लाइटमा हातपाउ टेकेर बल्लतल्ल पुगियो माथि डाँडामा । मोबाइलमा ५ प्रतिशतजति ब्याट्री थियो ।

मोबाइलको टेक्स्ट मेसेजमा पत्रकार मित्र मौषम रोकाले पठाएका केही सम्पर्क नम्बरहरु थिए ।

हत्त न पत्त थवाङको वार्ड नम्बर १ का अध्यक्ष फर्क बहादुर बुढामगरलाई फोन लगाउन खोजें । नेपाल टेलिकमको मेरो मोबाइलमा नेटवर्क नै रहेनछ । उनको पनि मोबाइल नेपाल टेलिकमकै रहेछ । अनि त कसरी हुन्थ्यो सम्पर्क । मोबाइलमा भएका अरु सम्पर्क नम्बर हेरें । थवाङको वडा नम्बर २ का अध्यक्ष वशन्त रोकाको नम्बर भेटिडो । धन्न उनको नम्बर एनसेलको रहेछ ।

‘हामीमध्ये कसैसँगको एनसेलको नम्बर छ ।’ मैले सोधें ।

‘छ छ मसँग छ । ’ एकजनाले भन्नुभयो ।

अनि उहाँको नम्बरबाट फटाफट डायल गरें ।

केहीबेर कुर्र कुर्र घण्टी गएपछि उताबाट वशन्त रोकाको आवाज आयो ‘हेलो !’

‘वडाध्यक्षजू, हामीमाथि डाँडामा आइसक्यौं । अब त्यहाँ आइपुग्न एकडेढ घण्टा लाग्छ होला । हामी ६ जना छौं ।’ मैले आफ्नो परिचयपछि सबै विवरण फटाफट बताएँ ।

उनले खाने बस्ने प्रबन्ध गर्ने बताए । अनि हामी ढुक्क भएर अगाडि बढ्यौं । रातीको समय बाटो देखाउने पनि कोही थिएन । सबैका मोबाइलहरु क्रमश अफ हुँदै गइरहेका थिए । गाउँलेहरु पनि सबै सुतिसकेका थिए । कताकता कुकुर भुकेको आवाज आँउथ्यो । फोनको नेटवर्क पनि गायब हुँदै गइरहेको थियो ।

हामी लगभग राती १० बजेतिर थवाङको ठूलो गाउँ पुग्दा सबैका फोन अफ भइसकेका थिए ।

थवाङको पुछारमा रहेको होटेलमा भेटिएका एकजनाले हामीलाई वडाध्यक्ष वसन्तको घरसम्म लगिदिने भन्दै त्यहाँबाट हिँडाए । रक्सीले मातेर बल्लबल्ल खुट्टा टेक्दै गरेका उनैका पछिपछि लाग्यौँ, हामी । रातिको समय भएकाले र अरू सबै सुतिसकेकाले हामीसँग अर्को विकल्प पनि थिएन । तर, उनले हामीलाई अर्कैको घरमा लगेछन् । हामीले केहीबेर वडाध्यक्षलाई बोलायौँ । तर, घर नै अर्कैको भएकाले कोही बोलेनन् । अनि हामी तलकै होटेलतिर फर्कियौँ ।

अनि होटेलमा पुगेर केहीबेर चार्ज गरेपछि फोन ‘अन’ भयो । त्यसपछि मैले एनसेलको नम्बरवाला फोन मागेर वडाध्यक्षलाई फोन लगाएँ । उनले खाना र वासका लागि होटेलमा भनिसकेको र खाना तयार रहेको जानकारी गराए । केहीबेरपछि त्यही होटेलकै साहुजी लिन आए । रात छिप्पिँदै गएकाले धेरै ढिलो नगरी खानपिन गरेर सुतिहाल्यौँ ।

वडा नम्बर २ का अध्यक्ष वशन्त रोकासँगै फर्कबहादुरको घरमा चिया पिउँदै ।

 

भोलिपल्ट विहान वशन्त रोकाले मलाई फर्कबहादुर बुढामगरको घरमा लगे । हामीले उनको घरमा बसेर चिया पियौं । उनकी पत्नी जमानसरीले बनाएको चियाको सुरुपलिंदै राजनीतिका कुराकानी भए । नयाँ पुराना गफगाफ भए । कम्युनदेखि शहिद परिवारसम्मका कुराकानी भए । त्यसपछि हामी थवाङको ठूलो गाउँ घुम्न निस्कियौं । मैले वडा कार्यालय अगाडि पुगेर फर्कबहादुरसँग अन्तरवार्ता पनि लिएँ ।

तत्कालिन नेकपा माओवादीको जनमुक्ति सेना गठन हुँदा पहिलो प्लाटुनका स्वास्थ्यकर्मी थिए फर्कबहादुर बुढा । त्यतीबेला उनको नाम कमरेड उज्जवल थियो । अहिले भने उनी विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीमा रहेछन् । स्वतन्त्र उम्मेदवारका रुपमा वडा नम्बर १ को वडाध्यक्षमा उठेका उनले चुनाव पनि राम्रै मतले जितेका थिए ।

उनीसँग त्यतीबेला लिइएको अन्तरवार्ता प्रशारण नहुँदै उनको निधनको खबर आएको छ । ब्रेन ह्यामरेजका कारण उनको निधन भएको खबरले स्तब्ध बनाएको छ ।

फर्कबहादुरको कार्यकक्षबाहिर राखिएको बोर्ड । अब उनी यो कार्यकक्षबाट सधैका लागि बाहिर भएका छन् ।

 

जेठ ३० गते विहान ब्रेन ह्यामेरेजका कारण अचेत भएका अध्यक्ष बुढालाई ३१ गते विहान उपचारका लागि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको रहेछ ।

शुक्रबार अपरान्ह १२ बजे अस्पतालले उपचार सम्भव नहुने निष्कर्षसहित विदा गरिदिएपछि घर लैजाँदै गर्दा ३ बजे मुग्लीनको कुरिनटारमा निधन भएछ । उनी ६० बर्षका थिए ।

पञ्चायत विरोधी आन्दोलनमा सक्रिय फर्कबहादुरले अहेवको स्थायी नियुक्ति लिएर विभिन्न ठाउँमा जागिरे जीवन बिताएका थिए तर २०५५ सालमा उनको पेन्सन पाक्न एक वर्षमात्रै बाँकी रहँदा जागी छाडेर माओवादी जनमुक्ति सेनामा लागे उनी ।

फर्कबहादुरसँगै वडा कार्यालय अगाडि ।

माओवादीले रुकुम, रोल्पा र जाजरकोट कार्यक्षेत्र रहनेगरी बनाएका तीनमध्ये एकनम्बर प्लाटुनको स्वाथ्यकर्मी थिए उनी । उनले जनयुद्धमा घाइते कैयन जनमुक्ति सेनालाई उपचार गरेर बचाए । तर उनलाई भने ब्रेन ह्यामरेजले जित्यो । श्रीमति जमानसरी लगायत सबैलाई छाडेर उनी विदा भए । जमानसरी दोश्रोपटक विधवा भएकी छिन् ।

जमानसरीको पहिलो विवाह लालधन बुढासँग गरेकी थिइन् । थबाङबाट एसएसली उत्तिर्ण गर्ने पहिलो व्यक्ति लालधनबाट उनीहरुको एक छोरा जन्मिए । पञ्चायतको अवधिमा थबाङको राजनीति ध्रुवीकृत भएको बखत एक समूहले विष खुवाएर लालधनको हत्या गर्यो ।

जमानसरीले त्यसपछि फर्कबहादुर बुढासँग विवाह गरेकी रहिछन् । उनीहरुको एक छोरी जन्मिइन् । ती छोरीको पनि क्यान्सरका कारण निधन भयो ।

यसरी विभिन्न पीडा र संघर्षबाट खारिएर आएका फर्कबहादुर बुढामगर हामी थबाङबाट फर्किने क्रममा विदाईका हात हल्लाउन बाटोसम्मै आएका थिए ।

तर अब त्यो उनको अन्तिम विदाई भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *