अमेरिकामा नेपाली पत्रकारिता, भ्रम र यथार्थ


–किशोर पन्थी

केहीदिन अगाडि ठ्याक्कै तीनवर्ष पुग्यो, अमेरिकाको न्युयोर्क आइसकेपछि एकजना पत्रकारसँग सम्पर्क भयो, उनी थिए विष्णु पौडेल । एभरेष्ट टाइम्सका सम्पादक । उनले भेट्न बोलाए, ज्याक्सनहाइटको पपुलर भिम्स क्याफेमा । क्याफेमा तितोतितो एलोभेराको जुस खुवाए । त्यसपछि कुराकानी सुरु भयो । उनी थाकेका थिए । पत्रकारिता गर्दा निकै मिहिनेत गर्नुपरेको हो कि भन्ने लागेर सोध्दा उनले भने –“कहाँ सातैदिन पत्रकारिता गरेर सम्भव हुन्छ यहाँ ? अरु काम गर्नुपर्छ । पत्रकारिताका लागि त निकै थोरै समय छुट्याउनुपर्ने बाध्यता छ । ”
 
त्यो बेलामा मेरो सोंचाई अलि फरक थियो । अमेरिकामा पनि नेपाली पत्रकारहरुले फूलटाइम पत्रकारिता नै गर्छन् भन्ने भ्रम थियो मलाई । पत्रकारले भेट्न पनि उनको कार्यालयमा नै बोलाउलान् जस्तो लागेको थियो । उता नेपालमा हुँदा फोटोमा म्यानहटनका ठूला ठूला घरहरु देखेको । तिनै घरमा हाम्रा नेपाली संचारमाध्यमका कार्यालय पनि होलान् जस्तो लागेको थियो । तर विष्णुजीले यहाँको वास्तविकता बताएपछि मैले प्रवासको पत्रकारिताबारे जे भ्रम पालेको थिएँ, त्यो भ्रम हट्यो । न्युयोर्कमा त प्राय मान्छेहरु टाइसुटमा नै हिड्छन् होला भन्ने भ्रम पनि थियो मलाई । तर त्यो भ्रम हट्न पनि धेरै दिन लागेन । आखिर जीवनको यात्रमा कैयन भ्रमहरु पालिन्छ, ति भ्रमहरु कालान्तरमा स्पष्ट हुंदै जाँदा रहेछन् । आखिर मान्छेको जीवनमा भविश्य सधै भ्रममा र वर्तमान यथार्थमा बाँच्दोरहेछ ।
 
कलेजमा अंगेजी साहित्य र राजनीतिशास्त्रको विद्यार्थी हुँदा स्नातक तिर सोक्रेटसको गुफा ( एलोगेरी अफ द केभ) भन्ने पाठ पढिएको थियो । त्यो पाठको झट्ट याद आयो मलाई । एकदम अध्यारोमा बसेको मान्छे जब एकदम उज्यालोमा आउँछ उसले केही पनि देख्न सक्दैन । उज्यालोमा आइसकेपछि पनि मान्छेले सुरुमा किन केही पनि देख्न सक्दैन ? किनभने उसका आँखा तिर्मिराउँछन् । ऊ अध्यारोतिरै फर्कन चाहन्छ । किनभने उजाल्योमा आँखा तिर्मिराउदा एडजस्ट हुन उसलाई केहीसमय लाग्छ । आँखा तिर्मिराएर बाहिरको बस्तु केही नदेख्दा अर्थात् वास्तविकता नबुझ्दासम्म उसलाई लाग्छ, मन्द प्रकाशको गुफा नै बढी उजाल्यो थियो । तर जब ऊ बाहिरको उज्यालोमा एड्जस्ट हुन्छ, तब आफू पहिले अध्यारोमा बसेको चाल पाउँछ । ज्ञानको प्राप्ती वा वास्तविकताको बोध पनि अध्यारोबाट उज्यालोमा आएजस्तै रहेछ ।
 
सोक्रेटसको यो पाठलाई अमेरिका आउनासाथ सबैभन्दा बढी व्यवहारत बुझ्न पाइयो । जीवनको यात्रा एउटा कम उज्यालो गुफाबाट अलिक बढीउज्यालो गुफातिरको यात्रा हो, भन्छु म । सास्वत सत्य अर्थात् मुख्य उज्यालो त सूर्य हो । हामी त त्यो सूर्यको प्रकाश छरिएका गुफाहरुमा यात्रा गरिरहेका छौं । हामीले अलिकति सूर्यको प्रकाश पाउनासाथ सबैभन्दा उज्यालोमा छिरेको भ्रम पाल्छौं । आफूलाई नै सास्वत सत्य ठान्छौं । तर जब हामी अर्को अझ उज्यालो स्थानमा प्रवेश गर्छौ, तब हामीले पहिले ठान्दै आएको सास्वत सत्य आफै काटिन्छ । किनभने त्यो सास्वत सत्य नै थिएन । हामीले केवल ठानेका मात्रै थियौं । ठान्नु र हुनु फरक कुरा हो । हामीले घरघरमा सानासाना पोखरीहरु बनाउछौं, अनि त्यो पोखरीमा परेको सूर्यको छायाँलाई वास्तविक सूर्य ठान्छौं । हामीले सबैले आफू आफूलाई ति एकएकवटा सूर्यको मालिक पनि सम्झन्छौं । अनि घमण्ड गर्छौ, मसँग छ सूर्य । म सूर्यको मालिक हुँ । हुनपनि हामी सबैले घरमा पोखरी बनाएका छौं, सबैको घरको पोखरीमा सूर्यको छाया पनि छ । सबैले त्यसैलाई वास्तविक सूर्य पनि ठान्दै आएका छौं । अनि घमण्ड त हुने नै भयो । तर वास्तविक सूर्य त एउटा छ, हामी भन्दा धेरै टाढा छ । अर्थात् हामी भ्रममा बाँच्छौं । र भ्रमलाई सत्य सम्झेर रमाउछौं । सास्वत सत्य फरक छ ।
 
विष्णु पौडेलदेखि तारा निरौलासम्मलाई भेट्दा अमेरिकाका बारेमा , अमेरिकामा रहेका पत्रकारका बारेमा वा अझ भनौं अमेरिकामा रहेका आम नेपालीका बारेमा हामीले ठान्दै आएको कुरा र भएको वास्तविकतामा फरक अनुभव ग¥यौं । अलिक अध्यारोबाट अलिक उज्यालोमा आयौं । अलिक उज्यालोबाट अझ बढी उज्यालोमा आउने क्रम जारी छ । यसरी उज्यालोतर्फ आउने क्रममा के कुरा थाहा पाइयो भने अमेरिकामा रहेका अधिकांश नेपाली पत्रकारहरुले पनि एकएक वटा पोखरी बनाएका रहेछन्, अनि पोखरीमा परेको सूर्यको छायालाई वास्तविक सूर्य ठान्दै आफूहरुलाई एकएकवटा सूर्यको मालिक भन्दै घमण्ड गर्नेहरु पनि धेरै नै रहेछन् ।
अमेरिका आउनासाथ विष्णुजी बाहेकका अरु पत्रकारलाई पनि भेट्न खोजेको हो । तर सबै व्यस्त । नेपालमा पत्रकारिता गरेका र अमेरिका आइसकेपछि पत्रकारिता छोडेका मित्रहरुलाई त्यतीबेला पहिलो प्राथमिकतामा राखिएन । यतै नेपाली पत्रकारिता गरिरहेका केही मित्रहरुलाई भेट्न खोज्दा पनि सबैजना व्यस्त । केहीलाई भेट्दा आफूलाई न्युयोर्क टाइम्सको सम्पादक भन्दा पनि भयंकर ठान्ने । त्यसमा उहाँहरुको दोष छैन । उहाँहरुले आफू बसेको गुफालाई सबैभन्दा उज्यालो स्थान ठान्नुभएको होला, सोक्रेटसको गुफाजस्तै । त्यो भन्दा अलिक उज्यालो स्थानमा आउनासाथ उहाँहरु आफैले बोध गर्नुहुनेछ कि आफू कतिसम्मको उज्यालोमा बसेको रहेछु भन्नेकुरा ।
 
अमेरिकामा रहेका नेपाली सञ्चारमाध्यमबारे हामी नेपालमा रहँदा खासै चासो राखिएन । किनभने नेपालमा अमेरिकाका नेपाली संचारमाध्यमबारे खासै चासो दिने चलन पनि छैन । नेपाली संचारमाध्यमको सवालमा कुरा गर्दा काठमाडौंले मोफसलका साप्ताहिक, पाक्षिक वा अनलाईनहरुलाई खासै चासो दिदैन । नेपाली पत्रकारिताको सन्दर्भमा अमेरिकाको नेपाली पत्रकारितापनि एउटा मोफसल जस्तै रहेछ ।
 
नेपालमा एउटा जिल्लाको जनसंख्या त्यस्तै दुईतीन लाखको हाराहारीमा हुन्छ । अर्थात् त्यो जिल्लामा निस्कने पत्रिका वा अनलाईनको मुख्य लक्ष्यितवर्ष त्यो संख्या भन्दा ठूलो हुँदैन । अमेरिकामा पनि नेपालीको संख्या दुईतीनलाखको हाराहारीमा छ । लक्ष्यितवर्ग पनि त्यही हो । जिल्लामा पार्टीका जिल्ला अध्यक्ष वा सिडियोहरुका समाचारहरु मुख्य समाचार हुन्छन् । अमेरिकामा पनि स्थानीय नेपाली कार्यक्रमहरु नै औपचारिक समाचारका मुख्य विषय हुन् । त्यसैले काठमाडौंले अहिले पनि अमेरिकाको नेपाली पत्रकारितालाई मोफसल जस्तै ठान्छ । हामीले जति ठूला गफ हा“केपनि सत्यकुरा त्यही हो । मलाई पनि अमेरिकामा यो अवधिमा नेपाली पत्रकारिता गर्दा काठमाडौंबाट मोफसलमा गएर पत्रकारिता गरेको अनुभव भइरहेको छ । यद्यपी गुल्मी, पाल्पा, कास्की, रुपन्देही, प्युठान, रोल्पा , रुकुम लगायतका दर्जनौं जिल्लामा रहेर मोफसलबाट पत्रकारिता गर्दा मैले हासिल गरेको अनुभव र अहिले हासिल गरिरहेको अनुभवमा भने केही फरक अवश्य पनि छ ।
अहिले नेपालको सन्दर्भमा कुरा गर्दा काठमाडौंको पत्रकारिताले ठूलो विकाश गरेको छ । सँगसँगै अमेरिकामा नेपाली पत्रकारिताको पनि ठूलो विकाश भएको छ । साप्ताहिक, पाक्षिक पत्रिकाहरुको संख्या आधा दर्जन पुग्न आँटेको छ । टेलिजिभनहरु खुलेका छन् । मासिक पत्रिकाहरु पनि छन् । अनलाइनहरु पनि छन् । रेडियोहरु पनि छन् । यो राम्रो विकाश हो । नेपालका जिल्लाहरुमा पनि सानातिना साप्ताहिक, पाक्षिक , मासिक पत्रिकाहरु खुल्ने क्रम बढेको छ । जिल्ला जिल्लामा सामुदायिक टेलिभिजनहरु पनि खुलेका छन् । रेडियो र अनलाइनहरु पनि खुलेका छन् । तर बिडम्बना , जिल्लामा रहेका संचारमाध्यमको स्तर भन्दा अमेरिकामा रहेका नेपाली संचारमाध्यमहरुको स्तर निकै तल छ । जिल्लामा भइरहेको जस्तो व्यवसायिक पत्रकारिताको अभ्यास पनि हुन सकेको छैन, अमेरिकाको नेपाली पत्रकारितामा । हामीले यो तितोसत्यलाई आत्मसाथ गर्दै अमेरिकामा रहेका आ आफ्ना संचारमाध्यमहरुको स्तर विकाशमा ध्यान दिन जरुरी छ । अमेरिकामा नेपाली पत्रकारिताको विकाश अझ बढी हुन जरुरी छ । अमेरिकामा नेपालीहरुको संख्यामा बृद्धिसंगै अझ बढी संचारमाध्यमहरु खुल्न आवश्यक छ ।
यो लेख सन् २०१३ को अप्रिलमा नेपाल अमेरिका पत्रकार संघको मुखपत्रमा प्रकाशित भएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *