कम्पनको युरोप यात्रा

मे महिनाको तेश्रो साता । समर सुरु भएपनि त्यती धेरै गर्मी भने थिएन । म टिसर्टमाथि कोट लगाएर झोलाभरी भर्खरै प्रकाशित मेरो पुस्तक कम्पन बोकेर न्युयोर्कको जोन अफ केनेडी विमानस्थल पुगें । झण्डै ६ घण्टाको यात्रापछि म चढेको विमान लण्डनको गेटविक बिमानस्थलमा अवतरण त निर्धारित समय भन्दा एक घण्टा पहिलै नै गरेको थियो । तर बाहिर निस्केर इमिग्रेशन क्रस गर्दासम्म रातीको १२ बज्यो ।

पत्रकार मित्र धुब्रराज अर्यालले म लण्डन जानुभन्दा केहीदिन अगाडिदेखि नै मेरो यात्राको फ्लो गरिरहेका थिए । पत्रकार महासंघ बेलायत शाखाको अधिवेशनमा व्यस्त हुँदाहुँदै पनि र आफै उम्मेदवार हुँदाहुँदै पनि उनले मेरो यात्राको बारेमा निरन्तर फ्लो गर्न भ्याएका थिए । यद्यपी लण्डन जानुअगाडि त्यहाँ मैले चिनेजानेका केहीलाई पहिले नै मैले सम्पर्क पनि गरिरहेको थिएँ ।

मैले बिमानस्थलबाट निस्कनासाथ सोझै इस्ट क्रोइडनको ट्रेन  पक्डें । लण्डनमा ट्रेन सिस्टम न्युयोर्कमा भन्दा पनि सजिलो छ । त्यसैले मलाई लण्डनको ट्रेन खास अप्ठ्यारो लाग्दैन । एप्पल पेबाट समेत तिर्न सकिने भएकाले कार्ड किन्ने झन्झट समेत गर्नु पर्दैन । न्युयोर्कको भन्दा अलिकति महँगो भने पक्कै छ । इस्ट क्रोइडन पुगेर उबर लिएँ । २३ पाउण्डमा सोझै धुब्र बस्ने घरमा लगिदियो उबरले । पत्रकार फणिन्द्र भट्टराई बाहिरै कुरेर बसेका थिए । खाना खाने मन त्यती थिएन । तर पनि फणिन्द्रजीले फोर्स गरेपछि खाना पनि तयार भयो ।

भोलिपल्ट विहानै उठेर फणिन्द्र भट्टराई, धु्रब अर्यालसहित हामी अल्डरसटमा पत्रकार महासंघको अधिवेशन स्थलतिर हुइकियौं । हामी पुग्दा अधिवेशनको तयारी भइरहेको थियो । अध्यक्षमा उम्मेदवारी दिएका नरेश खपांगी यताउता दौडधुप गरिरहेका थिए । हाम्रो झण्डै ११ बर्षदेखिकै चिनजान थियो । एकपटक हामीसँगै अधिकृत स्तरमा नाम निकालेरगोरखापत्रमा जागिर खान समेत गएका थियौं । उनले केहीसमय जागिर खाएर लण्डनतिर लागे, म नियुक्तीपत्र नै नलिइकन टेलिभिजनमा नै काम गरें, र पछि न्युयोर्कतिर लागें । केहीबेरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यपनि कार्यक्रम हलमा आइपुगे । हाम्रो चिनाजानी झण्डै १४ बर्षदेखिको हो । रोल्पामा पत्रकारहरुको एउटा बन्द कार्यक्रममा भेट भएको थियो, जसमा प्रचण्ड र बाबुराम मुख्य अतिथि थिए । त्यसपछि पटकपटक भेट हुने गरेपनि सन् २०१० पछि हाम्रो भेट भएको थिएन । पुस्तक बिमोचनका क्रममा काठमाडौंमा भेट्ने प्रयास गरेको थिएँ तर साइत जुरेको थिएन ।

अधिवेशनस्थलमा अरु थुप्रै नयाँ पुराना साथीहरुसँग भेट भयो । हेम गुरुङ, रुद्र ढकाल, शिव भण्डारी लगायत कैयन मित्रहरुसँग मेरो पुरानै चिनजान थियो । एनआरएनका उपाध्यक्ष कुल आचार्य लगायतका थुप्रै परिचित अनुहारहरु भएकाले मलाई नयाँ ठाउँमा छु जस्तो पनि लागेको थिएन । केही नयाँसँग पनि चिनजान र छलफल गर्ने मौका मिल्यो । कैयन साथीहरुले मेरो पुस्तक कम्पनको बारेमा पहिलै नै सुनिसक्नुभएको रहेछ । त्यसैले मैले पुस्तकबारे थप ब्याख्या गरिरहनु परेन । अधिवेशनमा पुस्तकको परिचय गराउने सेग्मेन्ट पनि थियो । नरेशजीसँगको समन्वयपछि त्यो अवशर जुटेको थियो ।

पुस्तकको परिचय गराइसकेपछि र मेरो मन्तब्यपछि मित्र हेम गुरुङले पुस्तक किन्न इच्छुकहरुसमक्ष पुस्तक लगिदिन सहयोग गरे । मैले पुस्तक पढ्न इच्छुकहरुलाई पुस्तकमा हस्ताक्षर गरेर उपलब्ध गराएँ । कम्पनबारेको सकारात्मक चासोका कारण म निकै उत्साहित थिएँ । एकातिर कम्पनले कार्यक्रमहलमा कम्पन ल्याइरहेको थियो भने अर्कोतिर अधिवेशनको कम्पन पनि चरमउत्कर्षमा पुगिरहेको थियो ।

अधिवेशनको कम्पनले पुस्तकको कम्पनलाई केही कम गरेपनि हलमा उपस्थीतहरुले पुस्तकबारे देखाउनुभएको चासो नै पुस्तकको एकखालको सफलता महसुस गरिरहेको थिएँ । पत्रकारको नयाँ नेतृत्वका चयनका रस्साकस्सी चलिरहँदा हाम्रो कम्पन फोटो सेसन र हस्ताक्षर पनि चलिरहेकै थियो । अधिवेशनले केही असन्तुष्टीका बीच नरेश खपांगीको अध्यक्षतामा नयाँ नेतृत्व निर्माण गरेपछि कार्यक्रम समापन भयो । हामी लण्डनको चार्लटनतिर लाग्यौं ।

भोलिपल्ट विलबीचमा माया दिदीको क्याफेमा कम्पनबारे मिट एण्ड ग्रिट थियो । हामी दिउसो २ बजेतिर नै त्यहाँ पुगेका थियौं । मिट एण्ड ग्रिटमा पुस्तकबारे छलफल भयो भने मैले केही कपीहरु हस्ताक्षर सहित उपलब्ध गराएँ । पुस्तकबाहेक अन्य विषयमा पनि छलफल भयो भने नयाँ चिनजान र सम्बन्धहरु स्थापित गर्ने अवशर पनि मिल्यो । गणेश खड्का, जीवन सेन, हेमन्त पौडेल, दिपक श्रेष्ठ, बासु शर्मा, रिता परियार, प्रेम देवकोटा, मोतिराज भण्डारी लगायतसँगको छलफल सकारात्मक रह्यो । रेष्टुरेण्टकै दाईले पनि पुस्तकबारे निकै चासो लिंदै एकप्रति पुस्तक किने । अनि भने – म खासै पढेलेखेको छैन हजुर । तरपनि अरुलाई पढ्न लगाएर भएपनि सुन्नेछु ।

विलविचको मिट एण्ड ग्रिटपछि म सिधै भिक्टोरिया स्टेशन पुगें । त्यहाँ पुगेर नटिंघमको बस चढेर दिदी भिनाजुलाई भेट्न नटिंघमतिर हान्निएँ । नटिंघमपनि मेरा लागि नयाँ थिएन । त्यसैले नटिंघमको बस स्टेशनबाट उबर लिएर सिधै घरमा पुगें । मध्यरात भइसकेको थियो ।

घरमा विवेक भान्जा र सपना भान्जी कुरिरहेका थिए । भान्जीको विहेमा उपस्थीत हुन पाएको थिएन । त्यसैले ढिलै भएपनि भान्जीलाई शुभकामना दिएँ । खाना खाइन्जेल रण भिनाजुपनि आइपुग्नु भयो । भोलिपल्टको कार्यक्रमबारे केहीबरे छलफल भयो । अनि हामी सुत्यौं ।

भोलिपल्ट लक्ष्मीदिदीसँगको भलाकुसारी भयो । घाम ताप्दै दिदीभाईका मिठामिठा कुराहरु भए । दिदीले सर्ट र कोर्टमा आइरन लगाइदिनुभयो । कपडाहरु कच्याककुचुक भएका थिए भने सर्टमा आइरन लगाउन पनि पाएको थिएन । त्यसपछि कार्यक्रम स्थलपुग्दा दिउसोको २ बजिसकेको थियो । कार्यक्रम अलिक ढिलो सुरु भयो ।

कार्यक्रम स्थलमा दुईचारजना बाहेक प्राय मेरा लागि नौला अनुहारहरु थिए । कार्यक्रममा पुस्तक कम्पनबारे परिचय गराइयो भने मैले भूकम्पका केही अनुभवहरु पनि सुनाएँ । केही पुस्तकहरु हस्ताक्षरसहित उपलब्ध गराइयो । नटिंघमका नेपालीहरुमाझ कम्पन पुर्याउन पाउँदा मलाई निकै खुशी लागिरहेको थियो । कार्यक्रमस्थलबाट घर आइपुग्दा रातीको ११ बजिसकेको थियो ।

लण्डनको लुटन एयरपोर्टमा विहान ४ बजे नै पुग्नुपर्ने भएकाले राती १ बजेको बस लिनुपर्ने थियो । लुटनबाट पोर्चुगलको फारोमा पुग्नुपर्ने थियो, जहाँ माइल्दाई हरिकृष्ण पन्थी मेरो प्रतिक्षा गरेर बसिरहनुभएको थियो । उहाँले शुक्रबार म लण्डन उत्रेदेखि नै काममा विदा लिएर बस्नुभएको थियो । त्यसैले मलाई पनि कतिबेला पोर्चुगल पुगौं जस्तो भएको थियो । राती १ बजे दिदीभिनाजु स्टेशनमा छोड्न आउनुभयो अनि म बस पक्रेर लुटन एयरपोर्टतिर हुईकिएँ ।

लुटनबाट पोर्चुगलको फारो जाने विमान चढेपछि कम्पनबारे चासो राख्ने बेलायतमा बस्ने नेपालीहरुलाई धन्यवाद दिदै फेसबुकमा ट्यागहरु हेर्न थालें । अधिकांश ट्यागहरु कम्पनकै थिए । कम्पनसँगै खिचिएका तस्वीहरु थिए । केहीबेरमा नै समुन्द्र कटेर विमान पोर्चुगलको फारो पुगिहाल्यो । जहाँ विमानस्थलबाहिर दाईले कुरिरहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *