१२ बर्षपछि थवाङमा (२१ एक्सक्लुसिभ फोटोसहित)

– किशोर पन्थी

रोल्पाको थवाङ । झन्डै १५ वर्षअघि पहिलोपटक पुग्दा जनयुद्ध चलिरहेको थियो, त्यो पनि चरम दमन र प्रतिरोधको बीचबाट । मुलुकमा संकटकाल लगाएर सेना परिचालन गरिएको थियो । त्यतिवेला थवाङको ठूलोगाउँ पुग्दा सेनाबाट जलाइएका घरको खरानी र जनमुक्ति सेनाका बारुदको गन्ध आउँथ्यो ।

घरका कौसीहरूमा जनमुक्ति सेना बन्दुकका नाल सफा गरिरहेका भेटिन्थे । मसला पिस्ने हातहरूले बारुद पिस्न थालिसकेका थिए । आलु उसिन्ने र ढिँडो पकाउने भाँडामा जनमिलिसियाहरूले जिलेटिन भरिरहेको देखिन्थ्यो । थवाङको जनवादी स्कुलमा ‘क’ कम्युनिस्ट, ‘ख’ खबरदार पढाइन्थ्यो । प्रतापहरू कोर्सका पुस्तक जलाएर जनवादी पुस्तक झोलामा बोकिरहेका भेटिन्थे भने दिलसराहरू घाँसका भारी होइन, काँधमा बन्दुक भिरेका देखिन्थे ।

त्यसपछि म पटकपटक पुगेँ, यो अजम्बरी गाउँमा । वर्ग संघर्षको इतिहास बुझ्न तथा दमन प्रतिरोधको व्यवहारिकता थाहा पाउन नेपालको एउटै गाउँ थवाङ काफी छ । वर्गसंघर्षको तुफानी केन्द्रका रूपमा रहँदै आएको एउटा विद्रोही गाउँ हो, थवाङ ।

०१५ सालको संसदीय चुनावदेखि ०७० सालको संविधानसभा चुनावसम्म प्रवाहको विरुद्धका सतिसालजस्तै उभिएको थवाङको पछिल्लो स्थानीय चुनावको परिणाम पनि आश्चर्यजनक छ । थवाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत चुनावमा भाग लियो ।

पछिल्लो संविधानसभा चुनावमा ‘नो भोट’ गरेको थवाङमा स्थानीय तहको चुनावमा भने उत्साहजनक मतदान नै भएको थियो । पुरानो थवाङ, उवा र मिरुललाई गाभेर बनाइएको थवाङ गाउँपालिकामा झन्डै ८ हजार मतदाता छन् । स्थानीय तहको चुनावमा थवाङकै ठूलोगाउँको माथिल्लो भेग वडा नम्बर २ मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव जित्यो ।

मुलुकमा गणतन्त्र आइसकेपछि भने म थवाङ पुगेको थिइनँ । पछिल्लोपटक ०६२ सालमा थवाङ पुगेको मलाई गणतन्त्रपछिको थवाङ हेर्ने निकै रहर थियो । तर, पनि साहित जुरेको थिएन । विद्रोही गाउँ थवाङको मुहार र परिचय फेरिँदै गएको चर्चा राजधानीतिर निकै हुने गरे पनि मलाई आफैँ थवाङ छाम्ने रहर थियो । पहिलेजस्तै थवाङ खोलामा मुख धोएर नानाले पकाएको जेरी खाने रहर थियो । थवाङीहरूसँगै आगो ताप्दै उसिनेको आलु खाने रहर थियो । अनि, कौसीमा घाम ताप्दै मकैको ढिँडो खाने रहर थियो ।

म न्युयोर्कबाट काठमाडौं झरेको भोलिपल्टै मित्र विश्वदीप पाण्डेले रोल्पाको लिवाङ पुगेर एउटा तस्बिर फेसबुकमा पोस्ट गरे । मैले तत्काल इनबक्समा मेसेज गरेँ –‘म पनि जान्थेँ नि रोल्पा ।’
त्यसपछि रोल्पा जाने योजना बन्यो । मलाई भने रोल्पाको लिवाङभन्दा पनि थवाङ जाने इच्छा थियो । त्यसैले हामीले तत्काल थवाङ जाने योजना बनायौँ, त्यसपछि लाग्यौँ, थवाङतिर । साथमा थिए, गंगा श्रेष्ठ, मनोज ढोडारी, प्रह्लाद पोखरेल र नारायण पाण्डे । हामी ६ जनाको टिम दाङको घोराही हुँदै रोल्पातिर प्रवेश गर्दा सबैमा एकखालको उत्साह थियो । रोल्पा टेकेपछि नारायणले सोधे– ‘किन जादै छौँ हामी थवाङ ?’

जवाफ मैले दिनुपरेन । विश्वदीपले दिए– ‘संसारभरका हिन्दूहरू पशुपतिनाथ जान्छन् । मुस्लिमहरू मक्कामदिना जान्छन् । बौद्धमार्गीहरू लुम्बिनी जान्छन् । विश्वका धार्मिक तीर्थस्थलजस्तै वर्गसंघर्षको इतिहास बोकेको थवाङ राजनीतिक तीर्थस्थल हो ।’ मलाई पनि खुबै चित्त बुझ्यो विश्वदीपको जवाफ ।

वास्तवमा थवाङ जानुको हाम्रो कुनै खास उद्देश्य थिएन । थवाङका बारेमा धेरैले धेरै लेखे । तर, राजनीतिक संघर्षको सिंगो पुस्तकका रूपमा रहेको थवाङलाई पढ्नु नै हाम्रो मुख्य उद्देश्य थियो ।
रोल्पाका हरेक ठाउँ ऐतिहासिक छन् । हामी रोल्पाको होलेरी छिर्नासाथ तस्बिर लिने क्रम बढ्दै गयो ।

जनयुद्धको सुरुवात गर्दा ०५२ साल फागुन १ गते कृष्णबहादुर महरा कमिसार रहेर वर्षमान पुन र नन्दकिशोर पुनको नेतत्वमा रोल्पाको होलेरी चौकीमा गोरखाबाट ल्याइएको राइफलले आक्रमण गरिएको थियो । जुन राइफल पछि जनयुद्धमा ‘होलटाइमर’ राइफलका रूपमा चर्चित भएको थियो । दोस्रोपटक पनि वर्षमान पुन र नन्दकिशोर पुनको नेतत्वमा ०५८ सालमा गरिएको होलेरी आक्रमणले तत्कालीन प्रधानमन्त्रीको कुर्सी मात्र हल्लाएन, नेपालको राजनीतिमा नयाँ ‘टर्निङ’ प्वाइन्ट ल्याएको थियो ।

होलेरीमा चिया–नास्ता खाइसकेपछि खाना खानका लागि हामी नुवागाउँ हुँदै रोल्पाको घर्तीगाउँ पुग्यौँ । जनयुद्धमा निकै नाम सुनिएका गाउँ हुन्, यी । त्यसैले हामीलाई रोल्पाका हरेक गाउँहरू पार गर्दै जाँदा आत्मीयताको अनुभव हुँदै जान्थ्यो । घर्तीगाउँ पुगेर थवाङकी गाउँपालिका प्रमुख रामकिरणी रोकालाई फोन गर्दा उनले थवाङ आइपुग्न बेलुकासम्म लाग्ने जानकारी दिइन् । थवाङ स्थायी घर भएका पत्रकार मित्र मौसम रोकाले पनि हाम्रो यात्राका लागि समन्वय गरिरहेका थिए ।

थवाङसम्म गाडी नपुग्ने कुरा पनि हामीले घर्तीगाउँ पुगेपछि नै थाहा पायौँ । बीच–बीचमा बाटो निर्माणको काम भइरहेकाले एक्जाभेटर सक्रिय थिए । त्यसैले, हामीले रोकिँदै–रोकिँदै यात्रा गर्नुपरेको थियो । तर, विकासको काम भइरहेकाले त्यसमा गुनासो गर्ने ठाउँ थिएन । थवाङ पुग्दै गर्दा उपराष्ट्रपतिका पुत्र एवं युवा नेता दीपेश पुनले पनि फेसबुकमा मेसेज पठाए– ‘रोल्पाको विकास पनि देख्नुभयो होला नि दाइ ?’

दाङ, होलेरी, थवाङ सडकखण्डअन्तर्गत रोल्पाको छेर्लावाङसम्म गाडी पुगे पनि त्यसभन्दा माथि सडकमा गएको पहिरोका कारण गाडी लैजान सम्भव थिएन । दुईखोली हुँदै छेर्लावाङ पुग्दा जनयुद्धका वेला त्यो बाटो हुँदै प्रचण्ड र बाबुरामलाई भेट्न जाँदाका यादहरू ताजा भए । दुईखोलीनजिकैको गाउँमा प्रचण्ड र बाबुरामसँग मेरो पहिलोपटक भेट भएको थियो । जनयुद्धका वेला प्रचण्डले दुईखोलीआसपासका क्षेत्रमा धेरै समय बिताएका थिए ।

छेर्लावाङ पुग्दा बेलुकाको साढे ६ बजिसकेको थियो । अगाडि सँगै जानका लागि रुटगाइड पनि थिएन । बाटो पहिलेजस्तो पनि थिएन । १२–१३ वर्षपहिले हिँडेको पहिलेको बाटो पनि सम्झिन सम्भव थिएन । स्थानीयसँग बाटोको बारेमा जानकारी लिएपछि हामी छेर्लावाङबाट थवाङका लागि उक्लियौँ । अँध्यारो झमक्कै भइसकेको थियो । हामीसँग लाइट पनि थिएन । मोबाइलको चार्ज पनि सकिनै लागेको थियो । अलिक माथि पुगेपछि बाटो हरायो । ढुंगैढुंगाको पहिरो छामछुम गर्दै हामी अगाडि बढ्यौँ । हातखुट्टा टेकेर अलिक माथि पुगेका नारायण र विश्वदीपले भने– ‘यताबाट नआउनुस् । बाटो छैन, ढुंगा मात्र छन् ।’

बाटोमाथिबाट गएको ढुंगाको पहिरो हुँदै अगाडि बढ्न सम्भव थिएन । बीचमा पुगिसक्नुभएका गंगा श्रेष्ठ पनि पछाडि फर्किन सम्भव थिएन । पछाडि फर्किन खोजेमा उहाँहरू दुर्घटनामा पर्न सक्ने सम्भावना त छँदै थियो, त्योबाहेक माथिबाट खसेका ढुंगाले हाम्रो ज्यानै लिनसमेत सक्थ्यो । शरीर ठूलो भए पनि प्रह्लाद पोखरेल अलिअलि हिँडिरहेकै थिए । तर, उकालोमा मनोजको घुँडा नै ननिहुरिने रहेछ । एक मन त त्यहाँबाट फर्केर छेर्लावाङतिरै गएर बसौँजस्तो लाग्यो । त्यसो गर्दा माथि पुगिसकेका विश्वदीप, नारायण र गंगा श्रेष्ठ अँध्यारोका कारण फर्किन सम्भव थिएन ।

म बाटो पत्ता लगाउन पखेरातिर लागेँ । पखेरामा गाईको गोबर भेटियो । गोबर भेटिएपछि मलाई बाटो पनि भेटिने आशा लाग्यो । केहीबेर यताउता डुलेपछि सानो गोरेटोबाटो भेटियो । त्यसपछि त्यही गोरेटोबाट निकै मुस्किलले डाँडामा पुगियो । डाँडामा पुगेपछि भने मूलबाटो भेटियो । डाँडामा पुग्दा अरू साथी पनि घसिँद्रै र हातपाउ टेक्दै डाँडामा पुगिसक्नुभएको थियो । त्यहाँ पुग्दा हामीलाई ठूलै युद्ध जितेजस्तो अनुभव भयो ।

अलिक अगाडि पुगेपछि थवाङको बस्ती देखियो । थवाङको बस्ती देख्दा हामीलाई त्यतिजेन्लसम्मको सबै थकान मेटिएको महसुस भयो । तर, त्यहाँबाट पनि रातिको समयमा बाटो नचिनेका हामीलाई थवाङ पुग्न सहज भने थिएन । कहिले भत्किएको मोटरबाटो त कहिले गोरेटो बाटो हुँदै हामी अगाडि बढिरह्यौँ । छेर्लावाङबाट हिँडेको झन्डै साढे ३ घन्टापछि हामी थवाङको खोलामा पुग्यौँ । तर, खोलामा पुगेपछि बाटो हरायो ।

विश्वदीप र म यताउता दौडधुप गर्दा पनि गाउँमा निस्किने बाटो भेटिएन । यत्तिकैमा थवाङको ठूलो गाउँ जाने तीनजना महिला भेटिए । उनीहरू तेल पेलेर आउँदै रहेछन् । उनीहरूले नै हामीलाई थवाङको ठूलो गाउँसम्म लगिदिए । थवाङको ठूलो गाउँपुग्दासम्म मेरो फोन अफ भइसकेको थियो । त्यहाँ नेपाल टेलिकमको नेटवर्क पनि नटिप्ने रहेछ । थवाङ आउनुअघिसम्म त्यहाँका वडाध्यक्ष वसन्त रोकासँग कुराकानी भइरहेको थियो । तर, थवाङ पुगेपछि भने फोन अफ भएकाले उनलाई सम्पर्क गर्न सकिएन ।

थवाङको पुछारमा रहेको होटेलमा भेटिएका एकजनाले हामीलाई वडाध्यक्ष वसन्तको घरसम्म लगिदिने भन्दै त्यहाँबाट हिँडाए । रक्सीले मातेर बल्लबल्ल खुट्टा टेक्दै गरेका उनैका पछिपछि लाग्यौँ, हामी । रातिको समय भएकाले र अरू सबै सुतिसकेकाले हामीसँग अर्को विकल्प पनि थिएन । तर, उनले हामीलाई अर्कैको घरमा लगेछन् । हामीले केहीबेर वडाध्यक्षलाई बोलायौँ । तर, घर नै अर्कैको भएकाले कोही बोलेनन् । अनि हामी तलकै होटेलतिर फर्कियौँ ।

फर्किने क्रममा केहीबेर साथीहरूलाई बाटोमा नै रोकेर म राति नै पहिलेको जेरी पसल कस्तो भएछ भनेर हेर्न दौडेँ । हामी त्यहाँ पुग्दा नानाले बनाएको थवाङको जेरी खुब खान्थ्यौँ । पत्रकार उजिर मगरले थवाङको जेरी खाएपछि मलाई फोन गरेका थिए । म यसपटक थवाङ पुगेको थाहा पाएपछि उनले मलाई सोधे– ‘त्यो जेरी पसल छ कि छैन किशोरजी ? त्यहाँबाट कुरा भाथ्यो तपाईं र मेरो ०६२ असोज २७ गते बिहान ।’ तर, अहिले थवाङमा जेरी पसल रहेनछ । कम्युनको जेरी पसलनजिकै पक्की घर बनेछ । त्यसमा नेपाली कांग्रेस थवाङ गाउँपालिका कार्यालय स्थापना गरिएको रहेछ ।

त्यसपछि म साथीहरू भएतिरै फर्कें । अनि होटेलमा पुगेर केहीबेर चार्ज गरेपछि फोन ‘अन’ भयो । त्यसपछि मैले एनसेलको नम्बरवाला फोन मागेर वडाध्यक्षलाई फोन लगाएँ । उनले खाना र वासका लागि होटेलमा भनिसकेको र खाना तयार रहेको जानकारी गराए । केहीबेरपछि त्यही होटेलकै साहुजी लिन आए । रात छिप्पिँदै गएकाले धेरै ढिलो नगरी खानपिन गरेर सुतिहाल्यौँ ।

भोलिपल्ट अरू साथी उठ्नुअघि नै म उठेँ । थवाङका पजलजस्ता बाटा पनि मेरा लागि अपरिचित थिएनन् । बिहानै उठेर म थवाङ खोलामा पुगेर मुख धोएँ । मलाई थवाङ खोलाको यो पानी पनि परिचितजस्तै लाग्यो । यो पानीमा धेरैले आफ्ना र अरूका रगत पनि पखालेका थिए । यो पानीमा राज्यपक्षबाट धेरैको हत्या गरेर हातमा लागेको रगत पखालियो । जनतामाथि रोपिएका संगिनमा लागेका रगत पखालियो । जनयुद्धका धेरै योद्धाले गोली लागेका घाउमा जमेका रगत पखाले ।

जनमुक्ति सेनाले सेना र प्रहरीका क्याम्पमा आक्रमण गरेर धेरैको सफाया गरेपछि हातमा लागेको रगत पखाले । रोमियो अप्रेसनदेखि किलोसेरा टुसम्म बलात्कृत कैयन चेलीको यौनांगमा लागेको रगत पनि पखालियो, यो पानीबाट । जनयुद्धका वेला यो पानीले मुख धुँदा मलाई पानीमा रगतका फाल्सा जमेजस्तो भान हुन्थ्यो । इतिहासका धेरै निर्मम कालखण्डको साक्षी बनेको यो खोला अहिले पनि उसैैगरी बगिरहेछ । जसले पखाले पनि नेपालीकै रगत पखालियो यो खोलाबाट पटक–पटक, अप्रेसन र विद्रोहका नाममा ।

हातमुख धोएपछि म थवाङका स्थानीय जनप्रतिनिधिहरू वसन्त रोका र फर्कबहादुर बुढाको साथमा थवाङ गाउँ घुम्न निस्केँ । मैले उनीहरूसँग थवाङमा अजम्बरी कम्युनले सञ्चालन गरेको जेरी पसलबारे सोधेँ । जेलवाङको जुनी कम्युनबारे सोधेँ । ठूलोगाउँ र फुन्टिवाङको बीचमा खोलिएको जनवादी स्कुलबारे सोधेँ । पार्टी फुटेपछि कम्युन पनि फुटेछ । कम्युनसँगै जनयुद्धका वेला नेताले देखाएका सपना पनि फुटेछन् । बाहिरबाट आएकाहरू आ–आफ्नो घर फर्केछन् । जुनी र अजम्बरी कम्युन इतिहास बनेको धेरै वर्ष भइसकेको रहेछ । जनवादी स्कुल पनि बन्द भएछ । त्यहाँका विद्यार्थी सरकारी स्कुलमा जान थालेछन् ।

जनयुद्धका वेला थवाङ पुग्दा बिहानैदेखि जनमुक्ति सेना र जनमिलिसियाहरू बन्दुक बोकेर घुमिरहेका देखिन्थे । अहिले साना–साना बच्चाहरू झोलामा पुस्तक बोकेर बिहान ७ बजेदेखि नै पढ्न निस्किने रहेछन् । पहिले १ र २ नम्बर वडा कार्यालय स्थापना गरिएको घरअगाडिको चौरमा घाम लाग्नासाथ जनसेनाहरू घाम ताप्दै बन्दुकका नाल सफा गरिरहेको देखिन्थ्यो, अहिले स्थानीय युवाहरू बास्केटबल र भलिबल खेल्न निस्किँदा रहेछन् । पहिले यो चौरमा नेताहरू बसेर राजनीतिका गफ गर्थे, अहिले युवाहरू फिल्मका गफ गर्छन् ।

थवाङका वडाध्यक्ष वसन्तले हामीलाई राज्यपक्षबाट जलाइएको बस्तीमा लगे । ०५८ सालमा संकटकाल लगाइएपछि चैत १६ मा सेनाले एकै ठाउँमा रहेका १३ वटा घरमा आगो लगाइदिएको थियो । रोमियो अप्रेसनका क्रममा गाउँमा पसेका प्रहरीले महिलालाई बलात्कार गर्ने, स्थानीयका अन्न मिसाइदिने, गाउँमा भेटिएका जाँडरक्सी खाइदिने, भेटेजतिलाई कुटपिट गर्ने गरेका थिए । तर, संकटकालपछि सेना जाँदा गाउँमा कोही नभेटिएपछि उनीहरूले १३ वटा घरमा आगो लगाइदिएका थिए भने माओवादी नेता तेजमान घर्तीमगर (दीर्घ)लगायत कैयनका घरका छाना भत्काइदिएका थिए । अहिले जलाइएका धेरैजसो घर पुनर्निर्माण भएछन् भने कतिपय भग्नावशेष मात्र रहेछन् ।

जलाइएको बस्तीअगाडि प्रहरी चौकी स्थापना गरिएको रहेछ । विगतको प्रहरी दमनका कारण प्रहरीप्रति स्थानीयको दृष्टिकोण त्यति राम्रो रहेनछ । प्रहरी इन्स्पेक्टरले पनि हामीसँग भेट्न मानेनन् ।
त्यसपछि हामी जनयुद्धका सहिद तेजमान घर्तीमगर (दीर्घ)को घरमा गयौँ । बर्मन बुढापछि थवाङका जनताले तेजमान बुढामगरलाई पनि खुबै मान्थे ।

घरमा जाँदा उनका छोरा अजय घर्तीमगर भेटिए, जसले जनयुद्धमा हात गुमाएका थिए । सहिद परिवार जनयुद्धमा मारिएकाहरूलाई सहिद घोषणा नगरेकोमा आक्रोशित रहेछन् । प्रायः सहिद परिवारको पनि बिजोग रहेछ ।

जनयुद्धमा मारिनेहरू थवाङमा मात्र ३२ परिवार छन् । तेजमान घर्तीमगर, ताराप्रसाद रोकामगर, लालमणि रोकामगर, मूलधन घर्तीमगर, जुतीबहादुर घर्तीमगर, हितबहादुर घर्तीमगर, दर्शन घर्तीमगर, सूर्यबहादुर रोकामगर, रामचन्द्र रोकामगर, मनभक्त बुढामगर, लोचन रोकामगर, टंक रोकामगर, बालकुमार नेपाली, धन रोकामगर, हितमाया बुढामगर, चामसरी बुढामगर, जोवनसरी रोकामगर, बिन रोकामगर, कुमार रोकामगर, रसु विक, बलमान बुढामगर, सिर्जन रोकामगर, भक्तबहादुर विक, कटकरी रोकामगर, भक्त रोकामगर, धनरूपी गुरुङ, निमु रोकामगर, मूलजिता रोकामगर र लाटा बुढामगर थबाङ र देशका विभिन्न भागमा राज्यबाट मारिए । तर, सहिदको सपना पूरा हुने त कुरै छाडौँ, सहिद परिवारलाई हातमुख जोड्नसमेत गाह्रो अवस्था रहेछ ।

सबैभन्दा ठूलो असन्तुष्टि जनयुद्धमा राज्यपक्षबाट मारिएकालाई सरकारले सहिद घोषणा नगरेकोमा रहेछ । त्यसैले त्यस्ता कैयौँ सहिद परिवार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लागेका रहेछन् । अजयसँग कुरा गरिरहँदा एकजना महिला नजिकै आइन् र भनिन्– ‘मलाई चिन्नुभयो ?’ स्वर चिनेजस्तो लाग्यो, तर १२ वर्षअघि देखेको त्यो अनुहार चिन्न मलाई सुरुमा अलिक अप्ठ्यारो भयो । म कन्फ्युज भएको देखेर उनैले भनिन्– ‘म असिना । सहिद ज्वारको जहान ।’ उनले आफ्नो परिचय दिएपछि मेरो मानसपटलमा १२ वर्षअगाडिको स्मरण ताजा भयो । कुराकानीका क्रममा उनले प्रचण्डप्रति निकै आक्रोश व्यक्त गर्दै भनिन्–‘बाबुराम दक्षिणपन्थी नै भए पनि आफ्नो लाइन जे हो, स्पष्ट राखे । उनी इमानदार रहेछन् । तर, प्रचण्डले हामीलाई ढाँटे, झुक्याए ।’

थवाङले धेरै नेताबाट धेरै आश्वासन पाएको छ । थवाङमा क्याम्पस बनाउनेदेखि केन्द्रीय प्रसारण लाइन जोड्नेसम्मका, जलजलालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेदेखि झकिवाङमा रंगशाला बनाउनेसम्मका कैयौँ आश्वासन पाएको छ थवाङले । तर, वर्षौदेखिको खानेपानीको समस्या छ, थवाङमा । ३२ सहिद परिवार जन्मायो, थवाङले । एकजना अझै बेपत्ता छन् । ३१ जना जनयुद्धका क्रममा अपांग भए । तर, पनि थवाङवासीलाई तपाईहरूको राज्यसँग केही माग छ कि भनेर सोध्दा उनीहरू भन्छन्– ‘हामीलाई खानेपानीको राम्रो व्यवस्था हुनुप-यो । अहिलेका लागि त्यति भए पुग्छ ।’

थवाङमा खानेपानीको समस्या निकै पुरानो हो । तर, यो समस्या समाधानका लागि स्थानीय स्तरबाट सम्भव नभएको बताउँछन्, थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती । कुनै वेलाका बिग्रेड कमान्डर वियोग नै हुन्, अहिलेका गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती । वीरबहादुर घर्तीलगायत अन्य जनप्रतिनिधि पनि थवाङमा खानेपानीको समस्या समाधानका लागि केन्द्रीय स्तरबाटै पहल हुनुपर्ने बताउँछन् । वडाअध्यक्ष वसन्त रोकाले पटक–पटक भने– ‘खानेपानीको समस्या समाधानका लागि तपाईंहरूले राष्टिङय स्तरबाटै कुरा उठाइदिनुपर्ने भयो ।’

जिल्लामा सञ्चालित रेडियोहरू पनि थवाङमा निकै मुस्किलले सुन्न सकिने रहेछ । नेपाल टेलिकमको टावर राम्रोसँग टिप्दैन । पत्रपत्रिका पुग्दैनन् । १५ वर्षअगाडिदेखि निर्माण थालिएको भनिएको बाटो पनि अहिलेसम्म पूर्ण हुन सकेको छैन । थवाङमा अहिले पनि भित्तामा जनयुद्धकालीन नारा देख्न सकिन्छ । अहिले विप्लव नेतृत्वको नेकपाका नारा थपिएका छन् । ऐतिहासिक गाउँ थवाङ अहिले पनि एउटा जीवित संग्रहालयजस्तो लाग्छ । तर, थवाङबाट निर्वाचित स्वतन्त्र स्थानीय जनप्रतिनिधि फर्कबहादुर बुढा भन्छन्– ‘अहिले त अब जलेका घरका केही भग्नावशेष र नारा मात्र बाँकी छन् । जनयुद्धकालीन संरचनाहरू व्यक्तिगत भएकाले संरक्षण गर्न गाह्रो भयो । तर, अझै पनि संग्रहालय बनाएर कतिपय चिजहरू संरक्षण गर्न सम्भव छ ।’

थवाङमा क्रिश्चियन धर्मको प्रभाव पनि निकै बढेको छ, अचेल । गाउँमा चर्चसमेत बनेको छ । कैयौँ राजनीतिक दलले भजाएको थवाङमा एनजिओ आइएनजिओहरूको खेती पनि मौलाएकै छ । विस्थापित भएकाहरू फर्केका छन् । पक्की घरहरू बनेका छन् । तर, राज्यपक्षबाट हुनुपर्ने खासै केही काम भएको छैन, थवाङमा । होटल र रेस्टुरेन्ट पनि खुलेका छन् । तर, पर्यटकलाई आकर्षित गर्ने कुनै सुविधा र संरचना छैन । न त थवाङमा नेताहरूले आश्वासन दिएजस्तो विकासको बाढी आएको छ, न त जनतालाई स्वरोजगार बनाउने कुनै कार्यक्रम देखिन्छ । न त गतिलो स्वास्थ्य सुविधा छ न त कोही बिरामी हुँदा अस्पताल लैजानका लागि मोटरबाटो र गाडीको सुविधा छ ।

बाटो राम्रो नभएका कारण अहिले पनि कोही बिरामी हुँदा बोकेरै लैजानुपर्ने बाध्यता छ । सशस्त्र विद्रोहका क्रममा ज्यान गुमाएकालाई एकमुष्ट राहत प्याकेज दिने, सहकारी, कम्युनलाई व्यवस्थित गर्ने कुनै पनि आश्वासन पूरा गरेका छैनन् नेताहरूले । विभिन्न नामका कम्युनिस्टले प्रयोग गर्दै आएको थवाङमा अहिले विप्लव नेतृत्वको नेकपाले प्रभाव बढाउँदै लगेको देखिन्छ । तर, थवाङ विद्रोहको भन्दा विकासको पर्खाइमा छ । थवाङमा जनताको नाममा गएको बजेट त्यहाँका राजनीतिक अगुवाले सिध्याउने गरेकाले लगानी अनुरूपको प्रतिफल देखिन्न ।

भाँगो उत्पादनका लागि गाँजाखेती उत्तिकै छ । व्यवस्थित हुनुपर्ने स्याउखेती र आलुखेती अव्यवस्थित छ । भेडापालन र बंगुरपालन पनि व्यवस्थित छैन । यद्यपि, घरघरमा झुन्डइएका मकैका झोत्ताले थवाङको मौलिकतालाई मर्न दिएको छैन । गल्लीमा छापिएका ढुंगाले पनि थवाङको मौलिकता झल्काउँछ । सरसफाइ पनि थवाङको राम्रो पक्ष हो । ठाउँ–ठाउँमा डस्टबिनहरू पनि राखिएका छन् । १२ वर्षपछि थवाङ पुगेर त्यहाँको अवलोकन गरिरहँदा दिउँसोको १२ बजेको पत्तो भएन ।

थवाङलाई राम्रोसँग छाम्न नपाउँदै हामी फकिर्नुपर्ने समय आइसकेको थियो । समयमा नहिँडे बेलुका घोराही आउन सम्भव थिएन । त्यसैले थवाङ घुम्ने धित नै नमरी हामी गाउँपालिका अध्यक्ष वीरबहादुर रोका र रामकिरणी रोकालगायत थवाङबासीसँग बिदा भएर बाटो लाग्यौँ । अनि खोला पार गरेर उकालो लागिसकेपछि दमन र प्रतिरोधको इतिहास बोकेको थवाङलाई पुन पछाडि फर्केर सलाम गर्न मन लाग्यो । अनि भन्न मन लाग्यो– ‘थवाङ, त्यसैले तिमी फरक छौ ।’

यो सामाग्री नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *