म वेवकुफ

– किशोर पन्थी

अमेरिकाको न्युयोर्कमा पाइला टेकेको एकहप्ता नबित्दै हामीलाई दुईवटा सल्लाह दिइयो , एउटा अमेरिकमा रहेकी कुनै ग्रिन कार्ड होल्डरसंग विवाह गर्ने वा शरणार्थीको रुपमा ग्रिनकार्ड हात पार्नका लागि इमिग्रेशन अफिसमा नक्कली शरणार्थी बनेर आवेदन दिने । भुक्तभोगी र जान्ने सुन्ने कहलिएकाहरुबाटै यस्तो सुझाव आएको थियो । तर मलाई दुबै सुझाव मन परेन ।

ग्रिन कार्डको लागि विहे गर्नेकुरा मलाई दाइजोको लागि विहे गर्नु जस्तै घिनलाग्दो लाग्यो । त्यसैले मैले यो विचारलाई तत्काल मनबाट निकालिदिएं । त्यसो भए मैले ग्रिनकार्डको लागि नक्कली शरणार्थी बनेर आवेदन दिने त ? ग्रिनकार्ड हात पार्ने धुनमा नक्कली शरणार्थी बन्नका लागि के के गर्नुपथ्र्यो होला त ? मैले खोजिनीति गर्न थालें, तत्काल ।

त्यसको लागि मैले आफूलाई माओवादीपीडित वा अरु केही पीडित भएको नक्कली कथा बनाउनुपर्ने हुन्थ्यो । माओवादीबाट अपहरित भएका वा कुटपिट भएका विवरणहरु बनाएर अमेरिकी सरकारलाई झुक्याउनुपर्ने हुन्थ्यो । ज्यानको असुरक्षा भएका कारण मेरो देश नेपालमा बस्न नसकेकाले अमेरिका छिरेको भन्ने कुरालाई प्रमाणित गर्न मैले भएभरका नक्कली कागजातहरु जुटाउनुपर्ने हुन्थ्यो । यो सबै मैले गर्नु उपयुक्त होला त ?

मैले मध्यरातमा उठेर छातीमा हात राखें । अनि सोचें । म मेरो प्यारो देश नेपालमा बस्नै नसक्ने अवस्थाका कारण अमेरिका आएकै होइन भने मैले किन शरणार्थी बन्नका लागि आवेदन दिने ? मैले कुनै राजनीतिक दल विशेषको वा नेपालकै बदनाम हुने गरी गलत विवरण किन तयार गर्ने ? म जहिले चाह्यो त्यही दिन नेपालमा गएर अरु नेपाली सरह बस्न सक्छु भने म नेपाली शरणार्थी किन बन्ने ? ग्रिनकार्डको प्रलोभनका अगाडि यो सबै गर्न मेरो मन एकइन्च पनि तयार थिएन ।

अर्कातर्फ मलाई लामोसमयसम्म अमेरिकामा कानुनी रुपमा बस्नका लागि अमेरिका आफैले बाटो खोलिदिएको थियो । आवश्यक परेमा चाहेजति समय कानुनी रुपमा नै अमेरिकामा बस्न अमेरिकाले नै बाटो खोलिसकेको अवस्था थियो मसँग । यदि यसो नहुंदो हो भने मैले नक्कली शरणार्थी बनेर ग्रिन कार्डका लागि आवेदन दिन्थें होला ? मलाई लाग्छ, मैले ग्रिनकार्डका लागि नक्कली शरणार्थी बन्नुको साटो मेरै देशमा फर्केर जिन्दगी बांच्थे होला ।

जे जसो भएपनि अमेरिकामा छिर्नासाथ अरु धेरैले ग्रिनकार्डका लागि नक्कली शरणार्थी बनेर आवेदन दिएजस्तो आवेदन दिनका लागि मेरो मन तयार भएन । यसो नगर्दा कैयनका नजरमा म वेवकुफ कहलिएं । ग्रिनकार्डका लागि विहे गर्ने र नक्कली शरणार्थी बनेर आवेदन दिने सुझावलाई मैले सधैका लागि खारेज गरिदिनु कैयनका नजरमा मेरो वेवकुफी वा बहुलठ्ठी थियो । तर पनि मलाई किन हो कुन्नी शरणार्थीका लागि आवेदन नदिएर वेवकुफ हुन नै मन लाग्यो । किनभने म जिन्दगीमा यसरी अरुका नजरमा धेरैपटक वेवकुफ कहलिइसकेको छु ।

जब म १७ वर्षको थिएं, मेरो पत्रकारिताको रुची अकस्मात जगमगायो । र मैले पत्रकारिताका लागि अत्यन्तै कठिन बाटो रोजें । त्यो कठिन बाटो रोज्दा म कैयनका नजरमा वेवकुफ कहलिएको थिएं । तर त्यतिबेला पनि मलाई वेवकुफ हुनुमा नै मज्जा लागेको थियो । मैले पत्रकारिताको त्यो कठिनबाटो रोज्दा नेपालमा माओवादी र सरकारबीच चर्को युद्ध थियो ।

यहीं युद्धकाबीचमा मैले रोजेको पत्रकारिताको त्यो कठिनबाटोबाट सबैभन्दा दुखी मेरो घरपरिवार भयो । त्यतीबेला नै मेले मेरो बाबाको आंखामा पहिलोपल्ट आशुं देखेको हो । न मैले त्यो भन्दा अगाडि बाबाको आंखामा आंशु देखेको थिएं, न त्यो भन्दा पछाडि नै कहिले देखेको छु । मैले मेरो बाबाआमालाई नै दुखी बनाएर पत्रकारिता रोजेको हुं । किनभने बाबाआमाको सपना मलाई पत्रकार होइन, अरु नै केही बनाउने थियो । तर बाबाका आशुंले मेरो यात्रा रोकिएन । मैले बाबालाई मैले रोजेको बाटो सही थियो भनेर कुनै दिन प्रमाणित गराएरै छाड्नेछु भन्ने अठोट लिएको थिएं । किनभने मलाई पत्रकारिता वा मिडियामा बाल्यकालदेखि नै रुची थियो । र वास्तविक पत्रकारिता गर्ने अठोट पनि ।

जब म १४ वर्षको थिएं, त्यतीबेला मैले लेखेको एउटा रेडियो नाटक रेडियो नेपालबाट प्रशारण भएको थियो । कुष्ठरोगीलाई अपहेलना गर्नु हुदैन भन्ने सन्देश सहितको त्यो नाटक रेडियो नेपालबाट प्रशारण भइसकेपछि मलाइ लेख्नमा प्रेरणा मिलेको थियो । १७ वर्षको उमेरतिर मेरो लेख काठमाडौंबाट प्रकाशित हुने एउटा राष्ट्रिय पत्रिकामा प्रकाशित हुन थालेपछि मलाई झन् पछि झन् कलम चलाउने आंट आयो । अनि मैले पत्रकारितामा पनि कठिन पत्रकारिताको यात्रा रोज्ने निर्णय लिएको थिएं । त्यही नै कैयनका नजरमा वेवकुफी थियो ।

त्यसपछिका दिनमा मेरा कति निर्णय कतिजनालाई वेवकुफी लागे होलान् त्यसको सम्झना छैन मलाई । किनभने त्यसपछिका ६ वर्ष सांच्ची भीषण र संघर्षपूर्ण थिए । ती वर्षहरुमा मैले मेरो जवानी आएको पनि पत्तो पाइन । जिन्दगीको एउटा महत्वपूर्ण क्षणको हत्या गर्दै म पत्रकारिताका लागि गर्भधारण गरिरहेको थिएं, त्यतीबेला । त्यो गर्भधारणका बेलामा मलाई अग्रज पत्रकार दाइहरुले दिएको प्रेरणा अविस्मरणीय छ ।

त्यो बाहेक पत्रकारितामा मलाई अरु कैयन कुराले उत्साहित बनाएको थियो । राष्ट्रिय स्तरका पत्रिकामा छापिएका मेरा रिपोर्ट पढेपछि माओवादी अध्यक्ष प्रचण्डले मलाई भेट्न बोलाएका थिए । प्रचण्डका तस्विरहरु पनि मिडियामा नआएको त्यो प्रचण्ड भूमिगत हुदाको अवस्थाको कुरा थियो ।
उनले भेट्ने खबर पठाएपछि म उनले बोलाएको स्थानमा गएं । सुरुमा त बाहिर बसेका प्रचण्डका गार्डले मलाई जान दिएनन् । मैले मेरो नाम भन्दा उनले त्यो नाम गरेको व्यक्ति म नै हो भनेर पत्याउदै पत्याएनन् । दुब्लो, पातलो म बच्चै जस्तो देखिन्थें शायद । पछि भित्र गएर प्रचण्डलाई सोधे उनले । अनि म प्रचण्ड बसेको कोठामा गएं ।

त्यहां उनले मेरा रिपोर्ट प्रकाशित भएका पत्रिका आफ्नो अगाडि राखेका थिए । मलाई देख्नासाथ प्रचण्डको छेउमा बसिरहेकी प्रचण्डपत्थी सिता आश्चर्य हुदै भनेकी थिइन् – तपाई त बच्चै पो हुनुहुंदो रहेछ । तपाईका रिपोर्ट पढ्दा तपाई अलिक पाको हो कि जस्तो लागेको थियो ।

यो भेटमा प्रचण्डले एउटा कुरा भनेका थिए मलाई । उनका केही नेताहरुबाट उनीसमक्ष के रिपोर्ट पुगेछ भने मैले माओवादीका कैयन गोप्य कुरा पत्रिकामार्फत खोलिदिएं रे । त्यसैले अप्ठ्यारो पर्न गयो रे । मैले प्रचण्डलाई त्यतीबेला सोधेको थिएं –“मेरो रिपोर्टिङले सांच्ची अप्ठ्यारो पारेको छ ?” मेरा नांगा खुट्टातर्फ आफूले ओढेको कम्मल सार्दै प्रचण्डले भनेका थिए – “त्यो केही साथीहरुले मसंग गरेको कुरामात्र हो, तर तपाईको रिपोर्टिङ मलाई एकदम पठनीय लागेको छ । ” उनले मलाई त्यतीबेला केही सुझाव पनि दिएका थिए ।

प्रचण्ड खुल्ला भइसकेपछि काठमाडौं बौद्धमा रहेको एउटा होटेलमा भेट्दा प्रचण्डले पुरानो भेट याद गरेका रहेछन् । पछि प्रचण्ड प्रधानमन्त्री भइसकेपछि सिंहदरवारमा उनकै कार्यालयमा भेट्दा भन्दै थिए – “समयले मान्छेलाई कहांबाट कहां कहां पु¥याउंछ । ”

जिवनमा अर्को पटक वेवकुफ कहलिएको चांही गोरखापत्र संस्थानमा अधिकृत स्तरको एउटा परिक्षामा नाम निकालेर नियुक्तिपत्र लिन नजांदाको क्षण थियो । लिखित र मौखिकमा नाम निकालिसकेपछि पनि म नियुक्तिपत्र लिन नजांदा म मेरा केही साथीहरु र आफन्तहरुको नजरमा वेवकुफ कहलिएको थिएं । तर म सुविधा र पैसाको लोभमा जुन सरकार आयो उसैको भजन किर्तन गर्ने थलोमा आफूलाई समाविष्ट गर्न चाहिन ।

यसबाट मेरा केही शुभचिन्तकहरुको पनि चित्त दुखेको थियो । जसजसको चित्त दुखेपनि र जसजसको नजरमा वेवकुफ कहलिएपनि स्वाभिमानको बिक्री हुने पसलमा मैले आफूलाई माल बनाउन चाहिन । मलाई वेवकुफ बन्नुमा नै मज्जा लाग्यो । त्यो बाहेक जीवनमा अरु धेरैले जस्तो ठूलो धनराशी बटुल्ने अवशर हुंदा हुदै पनि मोवाइल समेत फ्याकेर राजधानी छिर्दा पनि म वेवकुफ कहलिएको थिएं, केही आफन्त र साथीहरुका नजरमा ।

धेरैपटक धेरैको नजरमा वेवकुफ कहलिदा कहलिदै पनि मलाई यसरी वेवकुफ बन्नमा नै मज्जा लाग्छ । त्यसैले आगामी दिनमा पनि मलाई यसरी धेरैपटक वेवकुफ बनिरहने रहर र इच्छा छ । किनभने मैले गरेका यस्ता निर्णयहरुमा जसजसले मलाई वेवकुफ देखिरहेका हुन्छन्, मेरो नजरमा चांही उनीहरु नै वेवकुफ देखिने गरेका छन् ।


सन् २०११, जुन ६

2 thoughts on “म वेवकुफ

  1. Dherai ramro lagyo..keep it up

  2. Yrs life is yrs …wtever u like you can do …but be good, be happy and safe too …god bless you always ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *